काठमाडौंः प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीहरूको सरुवा अवधि एक वर्ष तोकिएको भएपनि विभिन्न २१ जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को सरुवा रोकीएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण एसपीको सरुवा अलपत्र परेको हो।
प्रहरी उपरीक्षकसम्मको सरुवाको अधिकार प्रहरी नियमावलीअनुसार प्रहरी महानिरीक्षक (आईजीपी)लाई दिइएको छ।
तर, कुनैपनि आईजीपीले गृहमन्त्रीको अनुमतिबिना सरुवा गर्ने परम्परा नै नबसाल्दा प्रहरीको सरुवा–बढुवामा गृहमन्त्री हाबी हुँदै आएका छन्।
झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपीले कमान्ड सम्हालेको १३ महिना पूरा भएको हो।
उनीहरूको २०७९ पुसमा सरुवा भएको थियो।
मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, बागलुङ, गोरखा, पाल्पा, गुल्मी र धनकुटाको एसपीले समेत कमान्ड सम्हालेको एकवर्ष पूरा भएको छ।
यी जिल्लाहरूमा गत वर्षको १९ पुसबाट एसपीहरूले कमान्ड सम्हालेका थिए।
तर, उनीहरूको नियमित सरुवा रोकिएको हो।
प्रहरी उपरीक्षकका लागि आकर्षित मानिएका पर्सा, मोरङ, झापा, रुपन्देही जस्ता जिल्ला जान शक्ति केन्द्रबाट दबाब सृजना गरेपछि सरुवा नै अवरुद्ध भएको हो।