डडेल्धुरा : माघ २३ गते बझाङको बित्थडचिर गाउँपालिका–१ का मोहनबहादुर बोहराको नेपाल टेलिकमको सिम एक्कासी बन्द भयो। उक्त सिम उनको आफ्नै नाममा थियो।
प्राविधिक कारणले भएको आशंका गरेका बोहराको सिम मात्रै बन्द भएन बैंक खाता नै रित्तो भयो। अनि झस्किए बोहरा।
उक्त मोबाइल नम्बरबाट नविल बैंकको मोबाइल बैंकिङ एप चलाएका थिए, उनले।
डडेल्धुरामै रहेका बोहरा एक्कासी सिम बन्द भएर खातामा भएको पैसा रित्तिएपछि टेलिकम डडेल्धुराको अफिसमा पुगे। र, थाहा पाए, अज्ञात व्यक्तिले उनको नाम र मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सोही नम्बरको सिम निकालेको।
उनको नविल बैंकको खातामा रहेको ७२ हजार एक सय रूपैयाँ इ(सेवा वालेटमा ट्रान्सफर भएको देखिएको छ। खातामा भएको रूपैयाँ टेलिकमको लापरबाहीले अज्ञात व्यक्तिले झिकिदिएपछि तनावमा छन्, उनी।
गैरजिम्मेवार टेलिकम डडेल्धुरा
बोहराको सिम बन्द हुनु र मोबाइल बैंकिङबाट पैसा झिकिनुले टेलिकम डडेल्धुरा गैरजिम्मेवार छ भन्ने प्रष्ट भएको छ।
प्रयोगमा रहेको सिम हराएको भएपनि सोही नम्बरको नयाँ सिम निकाल्ने क्रममा सक्कलै नागरिकता र स्वयम् व्यक्ति उपस्थित भएर अर्को सिमकार्ड लिने प्रावधान छ।
तर, टेलिकमले अनलाइनमा प्रविष्ट रहेको मतदाता नामावली परिचयपत्र डाउनलोड गरेर गएका अपरिचित व्यक्तिलाई सिमकार्ड दिएको छ।
यो घटना क्रमले टेलिकमका कर्मचारीको मिलेमतो रहेको आशंका गरिएको छ। भने नेपाल टेलिकमका सेवाग्राही समेत सशंकित भएका छन्।
टेलिकम कार्यालय डडेल्धुराका सूचना अधिकारी शिरीष श्रेष्ठले कार्यालयबाट कमजोरी भएको स्वीकारे।
उनी भन्छन्, ‘ती व्यक्तिले फोटोकपी मात्रै उपलब्ध गराए, त्यसै आधारमा हामीले सिम दिनु थिएन, त्रुटी भयो।’
अनुसन्धान गर्दै प्रहरी
अपरिचित व्यक्तिले मतदाता नामावलीको प्रमाणपत्र दुरुपयोग गरेर सिम झिकेपछि बोहराले प्रहरीमा उजुरी दिएका छन्।
अपरिचित व्यक्तिले सिमकार्ड झिकेको भनेर बोहराले हिजो उजुरी दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर कुसुमबहादुर नायकले जानकारी दिए।
नायकले उक्त उजुरीमाथि छानबिन भइरहेको जानकारी दिए।
महेन्द्रनगर पोष्टलाई उपलब्ध भएको सीसी टिभी फुटेजमा अपरिचित व्यक्तिले माक्स प्रयोग गरी मतदाता परिचय पत्रको विवरण पेस गरी सिम निकालेको देखिएको छ।
आफ्नो सिम कार्ड एक्टिभ हुँदाहुँदै मतदाता परिचयपत्रका आधारमा सिमकार्ड अर्को व्यक्तिलाई दिएको प्रति उनी आक्रोशित छन्।
ती व्यक्तिले डडेल्धुरास्थित मित्र मोवाइल ग्यालरीबाट रिचार्ज कार्ड खरिद गरेको समेत देखिन आएको बोहरा बताउँछन्।
मित्र मोवाइल ग्यालरीबाट रिचार्ज किनेको बताउँदै उनले पसलका सञ्चालकसँग बुझ्दा मास्क लगाएर आएका ती व्यक्तिले रिचार्ज कार्ड मागेको र त्यसको पैसा इ–सेवामा ट्रान्सफर गरेको समेत जानकारी दिएका छन्।
हेर्नुहोस् भिडिओ :