धनगढीः कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा र पूर्व अध्यक्ष अशोकराज देवकोटा फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीमा नक्कली टिकट प्रकरणमा उनीहरूको समेत नाम जोडिएपछि दुबै जना फरार भएका हुन्।
संघका वर्तमान अध्यक्ष बोहरा र पूर्व अध्यक्ष देवकोटाको नाममा पक्राउ पुर्जी जारी भएपछि उनीहरू सम्पर्कमा नरहेकोे कैलाली प्रहरीका प्रवक्ता कुलदिप चन्दले जानकारी दिए। डीएसपी चन्दका अनुसार घटना बारे अनुसन्धान जारी छ।
सुदूरपश्चिम प्रादेशिक महोत्सव, अत्तरियामा नक्कली टिकट विक्री गरेको आरोप लागेका चार जना प्रहरीको हिरासतमा रहेका छन्।
प्रादेशिक महोत्सवमा २८ वटा टिकट ठेली नक्कली टिकट बिक्रीका लागि राखिएको फेला परेका थिए।
ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु गर्ने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलिप साउँद, बिक्रीको जिम्मा पाएका दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा प्रहरीको हिरासतमा रहेका छन्।