महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मृत फेला प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
बिष्टको शव भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा (मंगलबार) बिहान भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
यसैबीच, हिजो प्रहरीले सोधपुछका लागि भन्दै दर्जनौं जनालाई नियन्त्रणमा लिएको थियो। तर, उनीहरूको नाम गोप्य राखिएको थियो।
आज पनि प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। हिजो आफन्तले केही व्यक्तिको नामसहित जाहेरी दिएको र दर्ता भई थप अनुसन्धान थालिएको एवं अहिले प्रहरीले दर्जनौं मान्छेलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले महेन्द्रनगरपोष्टलाई बताए।
पीडितका आफन्तले बिष्टको हत्याको आशंका गर्दै अनुसन्धानको माग गरेका छन्। उनको शव महाकाली अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। एक साता अगाडिमात्र भारतबाट नेपाल आएका उनी मंगलबार मृत फेला परेका थिए। भारतमा हुनुअघि उनी मलेसियामा काम गर्थे। नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकी श्रीमती शान्ति सेनामा सुडानमा छिन्। उनीहरूका २ वर्षीया छोरी छन्।
आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट हराइरहेका थिए। उनले बोक्ने मोबाइल ‘स्विच अफ’ थियो। उनी फेला नपरेपछि परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिएको थियो।
र, यो पनि: कञ्चनपुरमा विष्ट मृत फेला प्रकरण: थप एकजना नियन्त्रणमा, जाहेरी आउँदै
कञ्चनपुरमा सैनिकका पति विष्टको हत्या आशंका, नहरमा बोराभित्र शव (भिडिओसहित)