धनगढी: सुदूरपश्चिममा काजमा खटिएका चिकित्सक क्रमशः खेदिने क्रम जारी छ। केही महिना अगाडि बझाङ अस्पताल र अछाम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरिरहेका २ चिकित्सकको काज फिर्ता भएर खेदिएका थिए। सो समयमा राजनीति र मेडिकल एवं निजी अस्पतालका माफियाको सक्रियतामा उनीहरुको काज फिर्ता गराइएको बताइएको थियो। जबकी उनीहरूले पहाडी दुर्गममा बसेर विशेषज्ञ सेवा प्रदान गर्दै आएका थिए। अहिले ती संघ अन्तरगत दरबन्दी भएका चिकित्सक काज फिर्ता भएर स्वास्थ्य मन्त्रालय गैसकेका छन्।
यसै क्रममा अहिले पुनः एकपटक अर्का चिकित्सकको काज फिर्ता प्रकरण सतहमा आएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल कार्यरत डा. सुरेन्द्र बस्नेतको काज फिर्ता गराइएको बुझिएको छ। बस्नेतले माघ १८ गतेतिर काज फिर्ता गराइएको जानकारी दिए। स्रोतका अनुसार सुदूरपश्चिमका निजी अस्पताल तथा स्वास्थ्य संस्थाका माफियाले राजनैतिक चलखेल गरेर काज फिर्ता भएको हो।
सेतीमै सर्जरी लगायतका अन्य सेवा उपलब्ध भएपछि निजीतिर बिरामी घटेकाले चिकित्सकविरुद्ध माफिया लागेको आरोप छ। संघ मातहतका चिकित्सक बस्नेतको दरबन्दी भेरी अस्पताल नेपालगन्जमा हो। उनको सोही अस्पतालमा काज फिर्ता गरिएको जनाइएको छ।
युरोलोजिष्ट बस्नेतले आफू सेतीमा आएपछि स्वास्थ्य सेवा र अप्रेसनका कुराहरुमा सुधार भएको दाबी गरेका छन्। तर उनले अप्रेसन चार्ज बढी लिएकोबारे भने आलोचना भैरहेको छ।
त्यसमा उनले आफूले नभएर समिति र अस्पताल प्रशासनको निर्णयले नै अतिरिक्त अप्रेसनको चार्ज उपलब्ध गराइरहेको उनको भनाई छ। बस्नेतकी श्रीमती पनि सोही अस्पतालमा कार्यरत छिन्।
अस्पतालमा प्रशासनका अनुसार सेतीमा सर्जरीको लागि प्रदेशमा समायोजन भएर आउने अरु कोही पनि चिकित्सक छैनन्। संघका चिकित्सकमा पनि बस्नेत एक्ला चिकित्सक हुन्। उनको पनि काज फिर्ता भएको अवस्थामा सर्जरी सम्बन्धिको २ दरबन्दी खाली रहने छ।
यता सेतीका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले भने बस्नेतको काज थमौतीका लागि मन्त्रालयलाई लेखी पठाएको जानकारी दिएका छन्। चिकित्सक अभाव झेलिरहेको अवस्थामा सेतीमा कार्यरत चिकित्सकलाई फिर्ता पठाउनु अन्याय हुने भन्दै उनले काज थमौतीको माग गरिएको बताए।
र, यो पनि: अछाम अस्पतालका मेसुको काज फिर्ता, ‘माओवादीका अध्यक्ष’को प्रेसर
माफियाको दबाबमा हाकिमकै बोलावट, ‘बझाङ्गी’लाई चोट !
बझाङमा विशेषज्ञ सेवा दिन पुगेका जोशीको १५ महिनामै काज फिर्ता