धनगढी: टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका तर राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी मध्यरातमा विक्षिप्त बनेका छन्। आज मङ्गलबार राति उनले आफू विक्षिप्त बनेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका हुन्।
यश अगाडि केही दिन पहिले नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पत्नी रञ्जिता श्रेष्ठ र आफ्नोबीचमा रहेका मतभेद समाप्त भएको र आफूहरुको पार्टी र सरकार सञ्चालनबारे सहमति भएको दाबी गर्ने रेशमलाल एकाएक विक्षिप्त भएका हुन्।
उनले सो सहमति चार दिनमै भत्केकाे र पारिवारिक एवं सबैखाले सम्बन्ध समाप्त भएको जनाउँदै आफू मध्यरातमा विक्षिप्त बनेको जानकारी दिए। यद्यपि उनले अहिले भने सो जानकारीसहितको स्टाटस लगायत सबै पोस्टहरु हटाइसकेका छन्।
यस अगाडी उनले २० मिनेटकाे फरकमा सातवटा स्टाटस लेखेका थिए। जसमा उनले सुदूरपश्चिम र लुम्बिनी सरकारबाट नाउपा फिर्ता हुने सहमति भंग भएकाे र अब आफू यहाँभन्दा धेरै बेचिन तयार नरहेकाे आशय व्यक्त गरेका थिए।
साथै उनले पार्टीका नेता कार्यकर्ताहरूलाई जता फाइदा हुन्छ उतै लाग्न आग्रह पनि गरेका थिए। नाउपाकी प्रदेशसभा सदस्य टीका थापाले मंगलबार मात्रै सुदूरपश्चिम सरकारमा मन्त्रीकाे शपथ लिएकी छन्। उनले कृषि मन्त्रीको सपथ लिएकी हुन्। उनको सपथपछि रेशमलाल फायर भएको बुझिएको छ।
सोही कारण रेशमले फेसबुकबाटै नाउपा कुनै पनि सरकारमा सहभागी हुन नसक्ने बताएका थिए। फेसबुक स्टाटसमा उनले अध्यक्ष पत्नीलाई इङ्गित गर्दौ सम्बन्ध सबै समाप्त भएकाे घाेषणा पनि गरेका थिए। उनले आफूले भने पहिचानकाे आन्दाेलन छाेड्न नसक्ने बताएका थिए।
यस्तै सुदूरपश्चिममा मङ्गलवार सरकार विस्तार गरिएकोप्रति भने रेशमलालले थरुहट आन्दोलनप्रति धोका भएको दाबी गरेका थिए।त्यसपछि उनले अब एक महिना आराम गर्छु भनेर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए। उनै आराम गर्छु भनेका रेशमलालले अहिले भने सबै स्टाटस हटाएका हुन्।
यसअघि शनिवार पत्नी अध्यक्ष रञ्जितासँगको तस्बिर साझा गर्दै रेशमलालले लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेका थिए।
उनले महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै रञ्जितालाई नै चलाउन पनि आग्रह गरेको उल्लेख गरेका थिए। तर, मङ्गलवार एकाएक सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिका तर्फबाट टीकालाई मन्त्री बनाइएपछि रेशम आक्रोशित भएका थिए।
रेशमलाल र पत्नी अध्यक्ष रन्जिताका बीचमा सरकारको सहभागीताबारे पहिल्यैदेखि विवाद छ। सो विवादसँगै पार्टी अध्यक्षको विवादसमेत अहिले सर्वोच्च अदालतसम्मै पुगेको छ।
सर्वोच्च अदालतमा रेशमलालले रिट दायर गरेकोमा मिसिल कागज झिकाउन आदेशसमेत दिइएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रवार रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो।
संरक्षक चौधरीले पार्टी अध्यक्ष श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए।
नागरिक उन्मुक्तिको टीकापुरमा पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाई निर्वाचित गरेको थियो। तर त्यो निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गर्यो।
आयोगले नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊँ भनी रिट निवेदन दायर गरेका थिए।
यस्तै रेशमलालको सहमतिबेगर सुदूरपश्चिम सरकारमा श्रेष्ठपक्ष सहभागी भएको थियो। सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा भौतिक विकास मन्त्री लिएर नाउपाका कैलाश चौधरी सरकारमा गएका थिए।
रेशमलालले भने हालको गठबन्धनलाई समर्थन नगर्दै अडान राख्दै आएका थिए। सोही कारण पति-पत्नीको सम्बन्धमा पनि दरार आएको बताइन्थ्यो।
र, यो पनि: बुढीलाई नै पार्टी र सरकार चलाउन रेशमलालको आग्रह, सुदूरपश्चिममा समर्थन फिर्ता ?
टीका मन्त्री बन्दा मध्यराति रेशम फायर