धनगढी: कञ्चनपुर, महेन्द्रनगर घर भएका नेपाल नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख कारबाहीमा परेका छन्। राष्ट्र बैंक धनगढीका हाकिम विनोद लेखक कारबाहीमा परेका हुन्।
चार्टर्ड एकाउन्टेन्ट (सिए) पृष्ठभूमिका लेखकले आफूलाई नेपाली काँग्रेसका नेता रमेश लेखको भाइ भएको र उनको आफूलाई आशीर्वाद रहेको दाबी गर्दछन्।
तीनै लेखकले राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा उपद्रो मच्चाएपछि कारबाही स्वरुप उनलाई केन्द्रीय कार्यालय तानिएको पाइएको छ। लेखकलाई तानेपछि अहिले शान्ति पाण्डेलाई निमित्तको जिम्मेवारी प्रदान गरिएको छ भने लेखकलाई राष्ट्र बैंक केन्द्रीय कार्यालयको मानव संसाधन विभागमा ल्याएर अतिरिक्त समूह अन्तर्गत जिम्मेवारीविहीन अवस्थामा राखिएको छ।
करिब तीन साता अघि नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयको ढुकुटीमा लगाइएको सिल तोडिएको भेटिएपछि लेखक अनुसन्धानमा तानिएका थिए। त्यसपछि अनुसन्धानका क्रममा लेखकले नै सो सिल तोडिएको खुलेको थियो।
जबकी त्यो सिल भएको ठाउँमा पुग्ने र लाहा छापसहित सिल तोड्ने अधिकार सीमित व्यक्तिलाई मात्र हुन्छ। ढुकुटीहरूका ढोकामा समेत ३ वटा ताल्चा लगाइएको हुन्छ। ती हरेक ताल्चा तीनवटा चाबी नछिराएसम्म खुल्दैनन्।
यस्ता बलिया चाबी हरेक दिन साँझ ५ बजे ढुकुटीमा लगाइन्छ। ती चाबीहरूमध्ये एउटा कार्यालय प्रमुख, अर्को क्यासियर र तेस्रो कार्यालय प्रमुख (मेनेजर)ले तोकेको व्यक्तिको जिम्मा लगाइन्छ।
त्यतिले मात्र नपुगेर ती ताल्चा अनधिकृत ढंगले खोलिन्छन् कि भनेर त्यसलाई काँचो धागोले बाँधेर लाहा छाप लगाउने र सुरक्षाको जिम्मा पाएका व्यक्तिहरूलाई साक्षीका रूपमा सनाखत गराएर मात्र कर्मचारीहरू घर जान्छन्।
यसरी साँझ ५ बजेदेखि बिहान १० बजेसम्म नेपाली सेनाको सुरक्षा घेरामा हरेक कार्यालयका ढुकुटी राखिएको हुन्छ। यस्तोमा धनगढी कार्यालयको सिल भने तोडिएको अवस्थामा भेटिएपछि गम्भीर छानबिन सुरु भएको थियो। केन्द्रीय कार्यालय काठमाडौँले एउटा टोली नै अनुसन्धानको लागि खटाएको थियो।
स्रोतका अनुसार अनुसन्धानबाट लेखकले नै बिहानको समयमा बैंकको ढुकुटीमा पुगेर त्यहाँको ढोकामा लगाएको ‘सिल’ तोडेर फर्किएको खुलेको हो। यतिमात्र होइन, उनीमाथि चरेसजस्तै कालो पदार्थ सेवन गरेर घटना घटाएको आरोप लागेको छ।
तर एक मिडियामा भने उनले सो कुरा संस्थागत विषय भएकाले आरोप निराधार रहेको बताएका छन्।