दार्चुला– सुदूरपश्चिम प्रदेशका दार्चुलासहित तीन पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध बनेको छ । शुक्रबार बेलुकीदेखि सञ्चार सेवा अवरुद्ध भएको हो । दार्चुलासहित सुदूरपश्चिमका तीन पहाडी जिल्लामा नेपाल टेलिकमको सेवा पूर्ण रुपमा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
टेलिकम कार्यालयका अनुसारे हावाहुरीले डडेल्धुराको भालुमारेमा नेपाल टेलिकमको फाइबर चुडिएपछि दार्चुला, बैतडी र बझाङ जिल्लामा टेलिकमका सम्पूर्ण सेवा अवरुद्ध भएको छ । हावाहुरीले विद्यतका पोल ढलेपछि फाइबर ब्रेक हुँदा नेपाल टेलिकमले प्रदान गर्ने भ्वाइस कल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । टेलिकमको अवरुद्ध सेवा सुचारु गर्नका प्राविधक टोली खटिएको टेलिकमले जनाएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेलाबेला नेपाल टेलिकमको सेवा अवरुद्ध हुने गरेको छ । सञ्चार सेवा अवरुद्द भएपछि उपभोक्ताहरु सञ्चारविहीन बनेका छन् । निर्वाचनको बेला भएकोले सम्पर्क र समन्वयमा समेत समस्या भएको नेताहरुले बताएका छन् । उपभोक्ताका साथै कार्यालयहरुको सेवा र सञ्चारमाध्यमहरुको कामकाज समेत प्रभावित बनेको छ ।