दार्चुला– दार्चुलामा विहीबारदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । विद्युत नहुँदा दैनिकी कामकाज प्रभावित हुनुका साथै अन्धकारमा बस्नुपरेको सेवाग्राहीको गुनासो छ । दार्चुला सदरमुकाम खलंगासहित जिल्लाभरीको विद्युत सेवा तीन दिनदेखि अवरुद्ध भएको विद्युत वितरण केन्द्र दार्चुलाले जनाएको छ ।
विद्युत लाइनमा मर्मतको काम चलिरहेको भएपनि सञ्चार सेवा समेत अवरुद्ध हुँदा ढिलाइ भइरहेको विद्युत कार्यालयका प्राविधिक कर्मचारी सुरेश भट्टले बताए । तीन दिनदेखि बिजुली नआउदा मोबाइल चार्ज गर्न समेत समस्या भएको लेकमका स्थानीय प्रेम बिष्टले जानकारी दिए ।
‘राष्ट्रिय प्रसारण लाइन अवरुद्ध हुँदा उज्यालो बाल्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, विद्युतबाट चल्ने मेसिनहरु चलाउन पाइएको छैन,’ लेकमकै अर्का स्थानीय कृष्णदेब जोशीले भने । विद्युत अभावमा छापाखाना, सञ्चारमाध्यम र विद्युतीय पसहरुको सेवा बन्द रहेको छ । बिजुली अभावमै अस्पतालका विरामीहरुलाई समेत समस्या भएको छ । फ्रिजमा राख्नुपर्ने कतिपय औषधीहरु बिग्रिने अवस्थामा रहेको औषधि व्यवसायीहरुको गुनासो छ ।
विद्युत उत्पादनको धनी जिल्ला दार्चुलाको झण्डै ६० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलार र टुकीको भरमा सरकारी कार्यालयदेखि व्यक्तिगत कामकाज गर्नुपर्ने बाध्यता रहेको छ । विद्युत लाइन विस्तार भएको क्षेत्रमा अनियमित र कम क्षमताको विद्युतका कारण सँधै समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ ।
दार्चुलामा ३० मेगावाटको चमेलिया जलविद्युतसहित सहायक र ग्रामीण लघु जलविद्युतहरु उत्पादन भएपनि समयमै ग्रामीण विद्युतिकरण नहुदा जिल्लावासीले बिजुलीबत्ती बाल्न पाएका छैनन् ।
कुल उत्पादनको दुई प्रतिशत विद्युतले जिल्लाभरी झिलिमिली हुने अवस्थामा समयमै ग्रामिण विद्युतीकरण, सवस्टेशन निर्माण र लाइन विस्तारको कार्य सम्पन्न नहुँदा जिल्लाका आधा नागरिकले विद्युतको तारपोलसमेत देख्न पाएका छैनन् ।