धनगढी : अहिले प्रहरीका हाकिमदेखी पूर्वआइजीसम्मको नाममा ठग्नेहरू सल्बलाएका छन् । देश–दुनियाँका ठगलाई ठीक पार्ने प्रहरीका हाकिमकै नाममा ठगी हुन्छ भन्दा पत्याउन मुश्किल हुन्छ ।
तर, महानिरीक्षक बसन्त कुँवरको सचिवालयमा दर्ज भएको एउटा उजुरीमा लेखिएअनुसार ‘नम्बर पाकिस्तानको छ, म फलानो हुँ भनी नेपाली प्रहरी अधिकृतको नाम र फोटो देखाइएको छ ।’
नेपालको तराई क्षेत्रमा त्यस्ता ठगहरू केन्द्रित हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यसरी ठग्नका लागि फोन गर्नेहरू कसैले पाकिस्तान त कसैले लण्डनतिरको नम्बर प्रयोग गरेका छन् । उनीहरूले पूर्वआइजिपी शैलेश थापादेखि अहिलेका बसन्त कुँवरसम्मको फोटो ह्वाट्सएप नम्बरमा प्रयोग गरेको पाइएको छ ।
‘पीडितलाई दिनुपर्ने पैसा देऊ, नत्र म सिआइबी अफिसर..’ भन्दै विभिन्न व्यक्तिलाई फोन जान थालेपछि पीडितहरू प्रहरी प्रधान कार्यालयमा पुगेका थिए । प्रहरीस्रोत भन्छ, ‘त्यस्ता कलका प्रयोगकर्ता को हुन् भन्ने हेरिँदैछ । तराईतिर प्रयोग भएको सम्भावना छ ।’
उता, बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जमिन कीर्ते गरी नामसारी गर्ने चौधरी परिवारका मूली विनोदसँग सिआइबीले बयान लिने भएको छ । पक्राउ परेका कान्छा भाइ अरुणलाई जिल्ला अदालत काठमाडौंले नाटकीय पारामा रिहाईको आदेश दिएपछि ठूला चौधरी दक्षिणी मुलुकतिर लागेका थिए ।
त्यहाँबाट कुनै न कुनै दबाब सिर्जना गराई अनुसन्धानबाट मुक्त हुने प्रयास असफल भएपछि थप अनुसन्धानका निम्ति सिआइबी अग्रसर भएको हो । उक्त विषयमा मालपोतका कर्मचारीसहित त्यसमा संलग्न सबै पक्षको क्रमशः बयान लिइँदैछ ।
त्यसो त प्राविधिक पक्षबाट अनुसन्धान गर्ने सन्दर्भमा सिआइबी आफैं समस्यामा छ । ऊसँग मोबाइल फोन प्रयोगकर्ताको पहिचान गर्न सकिने सिम लोकेटर, क्रिप्टो कारोबारी पत्ता लगाउने उपकरणसहित ब्लक चेन अनालाइसिस नहुँदा समस्या भएको हो । फलतः कतिपय अनुसन्धान फितलो हुँदै गएका छन् ।
जस्तो– ललिता निवास प्रकरणमा मारवाडी समुदायको होस–हवास उडेको थियो । तर, मुद्दा उन्मुक्ति दिने गरी अगाडि बढाइयो । अवैध क्रिप्टो करेन्सीको कारोबारमा जुन फोन डिएसएनमा पठाउनुपथ्र्यो, त्यसलाई खल्तीमा राखिएको छ ।