काठमाडौं : इसराइल-प्यालेस्टाइन युद्धले बिथोलिनेहरू धेरै छन् र त्यसको बाछिटा नेपालसम्मै छ।
त्यही बाछिटाले नेपालका विपिन जोशीका परिवारलाई आशा र निराशाकाबीचमा बेचैन तुल्याएको छ। छोरा फर्किएर आउने आशमा आँखा बिछ्याएर बसेका विपिनको परिवारले उनीहरूको अवस्थासमेत थाहा पाउन सकेका छैनन।
तर धेरैतिरबाट उनीहरूको चासो र खोजी हुनै छोडेको छ, खबर ओझेलमा परिरहेको छ। विपिन इसराइलमा बेपत्ता छन्
सरकारले उनीहरूको अवस्था पत्ता लगाउन कूटनीतिक प्रयास गरे पनि सफलता भने मिल्न नसकेको जवाफ दिएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा-३ का २३ वर्षीय जोशी पढ्न इसराइल गएका थिए। इसराइलमाथि आक्रमण हुँदा जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो।
उनी सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत् इसराइल पुगेका थिए। उनी गएको केही महिनामै गत असोज २० गते हमासको आक्रमणमा परे।
त्यसबेला हमासले इसराइल प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा १० विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए।
जोशीलाई भने आक्रमणकारीले नियन्त्रणमा लिएको उनका साथीहरूले बताएका थिए।
मृत्यु भएकाहरूको इसराइलका लागि नेपाली दुतावासले डिएनए परीक्षण गरेको थियो। त्यसमा विपिनको डिएनए परीक्षण कोहीसँग नमिलेकाले उनी जीवितै छन् भन्ने आशा रहेका उनका बुबा महानन्द जोशी बताउँछन्।
सरकारले पनि उनी जीवित नै छ भन्ने आश्वासन देखाएको छ। त्यसैले फर्किएर आउँछ जस्तो लाग्छ, महानन्दले भने।
गत भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा विज्ञान संकायबाट ४९ जना विद्यार्थीसँगै विपिन पनि गएका थिए।
विपिनले हमासले बंकरमा हानेको ग्रिनेड टिपेर उनीहरू भएतिरै फालेको महानन्दले पनि सुन्दै आएका छन्। यस्ता कुरा सुन्दा छोरा सकुशल छ भन्ने उनलाई लागिरहन्छ।
त्यही आशाले महानन्द छोराको खोजी कार्य तथा उद्धार गरिदिन सरकारलाई हारगुहार गरिरहेका छन्। उनले निवर्तमान परराष्ट्रमन्त्री एनपी साउददेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई प्रत्यक्ष भेटेर खोजी गरिदिन धेरैपटक अपिल गरिसके।
उनी छोरा फर्किने आशैमा छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार इसराइलले गजामा युद्धविराम गरेयता हमासले बन्धक बनाएकाहरूको पनि खोजी कार्यको लागि पहल भइरहेको छ।
गत मंसिर ३ गते इसराइली सैनिकले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) मा भिडिओ सार्वजनिक गरेको थियो। त्यसमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो। आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो। आइडिएफको दाबी सत्य भए तीमध्ये एकजना विपिन हुनुपर्ने अनुमान गरिएको हो। तर पुष्टि हुन नसकेको प्रवक्ता राई बताउँछन्।
अहिले विपिनको बारेमा कुनै जानकारी आएको छैन, उनले भने, विपिनमात्र होइन, बेपत्ता भएका धेरै व्यक्तिहरूको अहिले कुनै अपडेट छैन।