काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी-२० आई वरीयतामा नेपाली खेलाडीले छलाङ मारेका छन् । ब्याटिङ र अलराउन्डर दुबैतर्फ नेपाली खेलाडीले ठूलो सुधार गरेका छन् ।
टी-२० आई वरीयताको ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औं स्थानमा छन् ।
रोहित भन्दापछि भारतका ईशान किशन ५५ औं स्थानमा छन् । जिम्बावेका सिकन्दर राजा ६० औं र भारतका शुभमन गिल ६५ औं स्थानमा छन् ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औं स्थानमा छन् । ७० औं स्थानमा बंगलादेशका अफिफ हुसेन र नामिवियाका जेजे स्मिथ पनि छन् । यी तीन खेलाडीको समान ४४५ अंक छ ।
कुशल मल्ल २७ स्थान सुधार गर्दै ३५ औं स्थानमा छन् । श्रीलंकाका धनन्जय डि सिल्भा पनि ३५ औं स्थानमा छन् । यी दुबैको समान ९४ अंक छ ।
अलराउन्डरतर्फ गुलशन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा छन् । ७२ औं स्थानमा पपुवा न्युगिनीका सेसे बाउ, आयरल्यान्डका ब्यारी म्याकार्थी र वेस्टइन्डिजका कायल मेयर्स छन् । यी सबैको समान ४९ अंक छ ।
अलराउन्डरतर्फ करण केसी २४ स्थान सुधार गर्दै ८१ औं स्थानमा छन् ।
अलराउन्डरतर्फ रोहित पौडेलले एकै पटक ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा छन् । बलिङको शीर्ष १०० मा भने कुनै पनि नेपाली खेलाडी अटाएका छैनन् ।
टी-२० आई वरीयतामा नेपाल १६ औं स्थानमा यथावत छ । नेपालको रेटिङ प्वाइन्ट १७५ छ ।
युएई १७४ रेटिङ प्वाइन्टका साथ १७ औं स्थानमा छ । नेपाल भन्दा अघि नेदरल्यान्ड्स १८४ औं रेटिङ अंकका साथ १५ औं स्थानमा छ ।