काठमाडौं : ललितपुर महानगरपालिका-१० का पूर्व-वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।
आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।
उनका अनुसार व्यञ्जनकारलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको हो।
व्यञ्जनकार लगातार दसपटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर-१० का अध्यक्षमा निर्वाचित भएका थिए।
गएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट उम्मेदवार उठेका आफ्नै ४४ वर्षीय भतिज रविनमान व्यञ्जनकारसँग उनी पराजित भएका थिए।
व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालबाट सुरू भएको थियो। त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ (माइला बाका छोरा) कर्मलाललाई हराएका थिए।
त्यसपछि यो वडाको जिम्मेवारी उनले कसैको हातमा जान दिएका थिएनन्। २०७४ मा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए।