धनगढी: जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनुवा कक्षमा रहेका एक थुनुवा भागेर भारततिर पुगेकोमा अहिले नियन्त्रणमा लिइएको छ। आज (सोमबार) दिउँसो जिल्ला प्रहरी कार्यालय पछाडिबाट हाम फालेर महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवर भागेका थिए। उनी दार्चुलास्थित महाकालीमा पौडी खेलेर भारततिर पुगेका थिए।
त्यसपछि महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले उनीलाई नियन्त्रणमा लिएर नेपाललाई बुझाएको छ।
तर, कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका एक जवान भिरबाट खसेका छन्। खसेर गम्भीर घाइते भएका कैलालीको कैलारी घर भएका जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको हो।
उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ। मुद्धा शाखामा ल्याएर सोधपुछ गर्ने क्रममा थुनुवा कुँवर भागेको र समात्न जाने बेला घटना घटेको जिप्रका दार्चुलाका निमित्त प्रमुख इन्सपेक्टए ज्ञानेन्द्रबहादुर सिंहले बताए। कुँवर हतकडीसहित भारततिर भागेका थिए। उनलाई छोप्न जाने क्रममा चौधरी जिप्रका परिसरको पछाडिबाट करीब ३० मिटर तल खसेका थिए।
हिरासतमा रहेका कुँवर यसअघि माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार पनि भएका थिए। आफ्नै श्रीमतीलाई ज्यान मार्ने उद्देश्यले लखेटिरहेको खबर आएपछि स्थानीय प्रहरी उनलाई समात्न गएकोमा उल्टै प्रहरीलाई कुँवरले आक्रमण गरेका थिए।
त्यसपछि उनलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो। कुँवरमाथि अपहरण, बन्धक, ज्यान मार्ने उद्योग, करणी लगायतका मुद्दा छन्।
यस अगाडि भुलवश उक्त समाचारमा गलत तस्बिर प्रकाशन भएकाले हटाइएको छ। यसले पर्न गएको असरप्रति क्षमाप्रार्थी छौँ। -सम्पादक
र, यो पनि: दार्चुलामा बुढी लखेटेर पुलिसलाई चक्कु हान्ने भगौडा कुँवर पक्राउ, ३ मुद्दामा प्रतिवादी
दार्चुलामा बुढी लेखेट्ने उमेश प्रहरीलाई नै चक्कु हानेर जङ्गल पसे !