धनगढी: दार्चुलामा प्रहरी नै घाइते भएका छन्। आज (आइतबार) जिल्लाको महाकाली नगरपालिका-१ दहका २३ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेपछि २ प्रहरी घाइते भएका हुन्।
स्रोतका अनुसार आज दिउँसो ड्युटीमा गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका हुन्। ठगुन्नामाथि चक्कु प्रहार भएर सिकिस्त रहेको र अर्कालाई सामान्य चोट लागेको हो।
हिजो उमेशले आफ्नी बुढीलाई कुट्ने गरेको निवेदन आएकोमा सामुदायिक प्रहरी बाङ्गाबगरबाट ती दुई प्रहरी उनलाई नियन्त्रणमा लिन गएका थिए। तर, प्रहरी पुग्दासम्म पनि उमेशले पत्नीलाई चक्कु समातेर लखेट्दै थिए। सोही क्रममा प्रहरी पुगेको र उनकी पत्नीलाई बचाउने क्रममा प्रहरीलाई चक्कु लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
चक्कु प्रहारपछि उमेश भागेको र जङ्गल एरियातिर गएको भन्दै खोजी थालिएको दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले बताए। घाइते प्रहरीको भने उपचार थालिएको उनले बताए।
केही महिना अगाडि भागेर विवाह भएकोमा उमेशले पत्नीलाई कुटपिट गर्ने गर्दथे। त्यसपछि उमेशकी पत्नीकी दिदीले प्रहरीमा निवेदन दिएकी थिईन्।