बैतडी: नेकपा एमाले बैतडीको नेतृत्व चयनको लागि सहमतिको प्रयास भइरहेको छ। अनेरास्ववियुको केन्द्रिय उपाध्यक्ष तथा युवा नेता गोविन्द गिरीले जिल्लाको अध्यक्षमा बलियो दाबेदारी राख्दै आएका छन्। युवामाझ लोकप्रिय नेताको छाप रहेका गिरीले अध्यक्षमा बलियो दाबेदारी राखेका हुन्।
नेतृत्व चयनका लागि चुनावी प्रक्रियामा जान तम्तयार रहेका गिरी सहमतिबाट पनि नेतृत्व चयनको पछि नहट्ने बताइरहेका छन्। कार्यकर्ताको मर्म र भावनाअनुसार सहमती हुनुपर्नेमा गिरीको जोड छ। कार्यकर्ताले रुचाएका, मनोभावना बुझ्ने, बैतडीको पार्टीलाई बलियो बनाएर देशभरमै नयाँ तथा फरक सन्देश दिने खालको पार्टी बनाउनको लागि योग्य नेतृत्व आवश्यक रहेको गिरीको भनाइ छ ।
नेतृत्व चयन प्रक्रियामा युवाहरुलाई अघि बढाउनुपर्नेमा उनको जोड छ । देशभरीमा युवाहरुको माहोल बन्दै गएकाले एमाले बैतडीमा युवाहरुलाई निस्तेज गर्न नहुने गिरीको भनाइ छ । ‘अग्रज नेताहरुलाई पार्टीको माथिल्लो तहमा पुर्याउने हो, तल्लो तहमा युवाहरुले पार्टी चलाउनु पर्छ, क्रियाशील मान्छे चाहियो,’ गिरी भन्छन् ।