काठमाडौं – देशको प्रमुख दुई सुरक्षा निकायले नयाँ नेतृत्व पाउँदैछ ।
१ महिनाभित्रैको अवधिबाट दुईपटक बढुवाको अवसर पाएका दुई प्रहरी अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कमाण्ड सम्हाल्ने सम्भावना देखिएको छ ।
दुवै संगठनका वर्तमान आईजीहरु ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि बहालवाला एआईजीमध्येबाट आईजी बढुवा हुने भएको हो ।
नेपाल प्रहरीमा ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) रहे पनि बसन्त पन्तले आजै अवकाश पाउने भएपछि आईजीको प्रतिस्पर्धामा विश्व पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रविन्द्र धानुक रहेका छन् । तर, यी चार मध्ये प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी सेवा प्रवेशदेखि नै उत्कृष्ट अधिकारीका रुपमा ख्याति कमाएका धिरजप्रताप सिंहलाई आईजी बनाउन चाहेको जनाइएको छ ।
उनीभन्दा सिनियर एआईजीहरु विश्व पोखरेल र सहकुल थापा रहे पनि आईजीका लागि सरकारले एआईजीहरुबाट छनोट गर्ने भएको हुनाले केही साताअघि मात्रै डिआईजीबाट बढुवा भएका सिंहले आईजीमा बाजी मार्ने देखिएको छ ।
सशस्त्र प्रहरी बलमा अहिलेको अवस्थामा एआइजी राजु अर्यालमात्र प्रतिस्पर्धी रहेको हुनाले उनकै बढुवा हुने जनाइएको छ ।
आजै नेपाल प्रहरीका आईजी शैलेश थापा क्षेत्रीको बिदाईका लागि प्रहरी प्रधान कार्यालयले विशेष कार्यक्रमको आयोजना गर्दैछ । त्यस्तै सशस्त्र प्रहरीका आईजी पुष्पराम केसीले पनि आजै अवकाश पाउँदैछन् । उनी आजभन्दा १८ दिनअघि सशस्त्र प्रहरीको आईजीमा बढुवा भएका थिए ।
आईजी बढुवाका लागि मन्त्रीपरिषद्को बैठक सुरु भएको बालुवाटारस्रोतले जनाएको छ । मन्त्रीपरिषद्को निर्णयसँगै अब नेपाल प्रहरीमा २९ औं र सशस्त्र प्रहरी बलमा १२ औं आईजी नियुक्त हुनेछन् ।