धनगढी: प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिका अध्यक्ष तथा संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपविरुद्ध पार्टीका जेष्ठ सदस्य तथा वार्ता समिती संयोजक दामोदर पण्डीतले विज्ञप्ती जारी गरेका छन् ।
उक्त विज्ञप्तीमा नयाँ गठबन्धन सरकारमा तत्काल सहभागी नहुने र समर्थन नगर्ने भनिएको छ । यस्तै प्रदेश सरकारको हकमा संवाद गरेर अगाडी बढ्ने उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्डले फाल्गुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको थियो ।
दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ ।’
आज बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।