धनगढी: संघीय सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
विशेषगरि सुदूरपश्चिमका खानीहरुको अध्ययन तथा उत्खननको कामलाई प्राथमिकताका साथ गर्ने भण्डारीको भनाई छ। मंगलबार प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले सुदूरपश्चिममा रहेका प्राकृतिक खानीको अध्ययन तथा उत्खनन्को काम अघि बढाउने बताएका हुन्।
‘सुदूरपश्चिममा फस्फोरसको ठुलो सम्भावना छ । म त्यसको अध्ययन र उत्खननका लागि लाग्नेछु’, भण्डारीले भने,‘सुदूरका फलाम, तामा र अन्य खानीहरु मेरो प्रार्थमिकतामा रहने छन्।’ १४ महिनापछि दोस्रोपटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका भण्डारीले विगतमा थालनी गरेका काम जहाँको त्यही रहेकाले तिनलाई पनि अघि बढाउने उल्लेख गरे।
‘कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाहको काम मैले जे सुरुवात गरेको थि तर एक कदम पनि अगाडि बढेको रहेनछ, भण्डारीले भने, ‘दैजीको विषेश आर्थिक क्षेत्रको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो तर त्यसपछिको सरकारले त्यसमा कुनै ध्यान नै नदिएको पाए। अब यी कामलाई प्राथमिकताका साथ गर्छु।’
दैजीमो विशेष औद्योगिक क्षेत्र, कैलालीको हरैयामा सेजको कामलाई पनि अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्। भण्डारीले अहिले बनेको गठबन्धन अग्रगामी गठबन्धन भएकाले यसलाई असफल हुने छुट नहुने बताए।