काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेशको अंकगणित अनुसार सरकार बनाउनका लागि आवश्यक पहल गर्न प्रदेश सभापतिहरुलाई निर्देशन दिएका छन् ।
कांग्रेसका प्रदेश सभापति र मुख्यमन्त्रीहरु सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । सभापतिले प्रदेशगत जानकारी सभापतिहरुसँग लिएका छन् ।
‘आआफ्नो तर्फबाट सरकार बनाउन प्रयास गर्न सभापतिले भन्नुभएको छ,’ सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले भने, ‘माथिबाट के गर्नुपर्छ भन भन्नुभएको छ ।’
सुदूरपश्चिम र गण्डकीमा सरकार बनाउन सकिने सम्भावना रहेको त्यहाँका मुख्यमन्त्रीले सभापति देउवालाई जानकारी गराएका छन् । ‘त्यहाँ अहिलेकै मुख्यमन्त्री रहिरहन सकिने सम्भावनाको बारेमा कुरा भएको छ,’ बागमती प्रदेशका सभापति इन्द्र बानियाँले भने ।
सुदरपश्चिममा कांग्रेसका कमलबहादुर शाह र गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् ।
बागमतीमा केन्द्रको गठबन्धनको बहुमत नपुग्ने हुँदा कांग्रेसले सरकार बनाउन सक्ने सम्भावना समेत रहेको बानियाँले बताए । प्रदेशमा सरकार बनाउन विचार मिल्नेसँग सहकार्य गर्न सभापतिले निर्देशन दिएको बानियाँले जानकारी गराए ।
कर्णालीमा कांग्रेसले सरकार बनाउने अवस्था नरहेकाले त्यसका लागि पार्टी नलागेको प्रदेश सभापति ललितजंग शाहीले बताए ।