धनगढी : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सदस्य कैलाश चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई मत नदिने बताएका छन् ।
टिकापुरमा संस्थापक केन्द्रीय सदस्यहरूको छलफलमा चौधरीले आफुलाई कारबाही गरेपनि सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने बताएका हुन ।
बैठकमा सहभागी एक नेताले भने, ‘कैलाश चौधरीले बरु मलाई कारबाही गर्नुहोस् म यो सरकारलाई विश्वासको मत दिन्न भनेर निस्किनु भएको हो ।’
बैठकमा सहभागी ती नेताका अनुसार नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गर्नु पर्ने, नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री हुँदा मात्रै आफूले विश्वासको मत दिने नत्र नदिने कैलाश चौधरीले पटक पटक बताएका थिए ।
बैठकमा सुदूरपश्चिम प्रदेशका सात मध्ये ६ जना प्रदेश सभा सदस्यहरू उक्त बैठकमा उपस्थित थिए भने, लुम्बिनी प्रदेशका २ जना उपस्थित थिए । उनीहरू बिच प्रदेश सरकारलाई लिएर तीव्र मतमतान्तर भएको छ ।
नयाँ बनेको गठबन्धनमा सहभागी हुने या पुरानै गठबन्धनमा सहभागी हुने विषयमा बैठकमा छलफल भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए । ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितको अध्यक्षतामा बैठक बसेको थियो ।
उक्त बैठकमा सुदूरपश्चिमका घनश्याम चौधरी, लक्ष्मण किशोर चौधरी, खुसीराम चौधरी, कैलाश चौधरी रामेश्वर चौधरी र इन्दिरा गिरी उपस्थित थिइन् । उता लुम्बिनी प्रदेशका लुम्बिनीका धर्मराज चौधरी र राजकुमार चौधरी पनि बैठकमा थिए ।
कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह अहिले अल्पमतमा परेका छन् । ५२ जना प्रदेश सभा सदस्य रहेको यहाँ बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ ।
यहाँ कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन् । अहिले राप्रपा र स्वतन्त्रका १्१ सांसदले पनि विश्वासको मत दिने भएपछि सुरक्षित रहने अवस्थामा पुग्ने प्रदेश सरकार कुनै एक सांसदले विश्वासको मत नदिँदा ढल्छ । यस्तो अवस्थामै बैठकमै नाउपाका सांसदले विश्वासको मत नलिने बरु कारबाही भोग्न तयार हुने भन्दै दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।