धनगढी : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको विकासले गति पाउने दाबी गरेका छन् । कञ्चनपुरको एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सुदूरपश्चिमको विकास निर्माणले तीव्रता पाउने विश्वास व्यक्त गरेका हुन् ।
उनले सुदूरपश्चिमलाई शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्नेमा जोड दिए । ‘देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा रहेको छ । हाम्रो नीति अनुसार हामी सुदूरपश्चिमको विकासलाई अगाडी बढाउँछौँ’ उनले भने ‘तीन वर्षमा प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामहरूले अब निरन्तरता पाउँछन् ।’
उनले सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणले पनि तीव्रता पाउने बताए ।
‘हामीले सुख्खा बन्दरगाह अगाडि बढाएका थियौँ त्यो काम प्रगतिहीन भयो । दैजिमा हामीले औद्योगिक क्षेत्र शिलान्यास गरेका थियौँ त्यो पनि अगाडि बढेको छैन’ ओलीले भने ‘अब सुदूरपश्चिममा औद्योगिक विकासले गति पाउँछ । यहाँका औद्योगिक विकासको लागि यही बैतडीबाट निर्वाचित दामोदर भण्डारीलाई उद्योग मन्त्री बनाएका छौँ ।’
ओलीले आफ्नो साथ सुदूरपश्चिममा रहेको भन्दै डिल्लीराज भट्टलाई प्रदेश प्रमुख बनाएको विषय पनि निकाले ।
चाँदनी दोधारामा १० क्युसेक पानी छोड्नु पर्ने सम्झौता भएको तर, त्यो अहिले कार्यान्वयन नभएको भन्दै उनले यस विषयमा कूटनीतिक कुरा गर्ने बताए । झोलुङ्गे पुल बनाएर तुइन विस्थापित गरेको भन्दै ओलीले आफू सरकार बाहिर भएपनि कुनै पनि काम अगाडि नबढेको बताए ।
‘यहाँको विकासको कामलाई अगाडी बढाइने छ । कृषिमा आधुनिकीकरण गरिने छ । आधुनिक कृषि प्रणाली लागू गरिने छ । जग्गाधनीपूर्जा उपलब्ध गराइने छ’ ओलीले भने ।
अध्यक्ष ओलीले जिल्ला नेतृत्वको लागि सक्षम र सबल नेतृत्व चयन गर्न पनि नेता कार्यकर्ताहरूलाई सुझाव दिए । ‘जनतामा राजनैतिक जागरण सामाजिक नागरिक सुरु गर्नु पर्छ त्यसको अगुवाइ नेकपा एमालेले गर्छ’ ओलीले भने ‘त्यस अनुसारको नेतृत्व अगाडी बढाउनु पर्छ । सबैले यहाँबाट सहयोग गर्नु पर्छ । ’
उनले सर्वसम्मत मार्फत नेतृत्व चयन गर्न नभए स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका थिए । कञ्चनपुरका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सबै वडामा विजयी हुनेगरि काम गर्न समेत कार्यकर्ताहरूलाई निर्देशन दिए ।
उनले भत्किएको गठबन्धनले काम गर्न नसकेको उल्लेख गरे । ‘एमाले सरकार हुँदा पुल बाटो सुख्खा बन्दरगाह बनाउन सक्ने अरूले चाहिँ जसले गरेपनि गाली गरेर बस्ने हो ’ उनले सोधे ‘शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्रीलाई भएर के गर्नु भयो ? केही गर्न सक्नुभएन । ’
आफूले तीन वर्षमै थुप्रै काम गरेको र जनताले त्यसको महसुस गरेको पनि ओलीले दाबी गरे । उनले अहिले सरकार समस्या समाधान गर्न लागिपरेको बताए ।