धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख नजिर मियाँले पदभार ग्रहण गरेका छन्। शुक्रबार धनगढी आइपुगेका मियाँले प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रमुख मियाँले सबै पक्षसँग समन्वय र सल्लाह गरेर कामकाज गर्ने प्रतिबद्वता जनाएका छन्।
मियाँ मुस्लिम समुदायबाट प्रदेश प्रमुख बनेका पहिलो व्यक्ति हुन्। १५ माघ २००८ सालमा अर्घाखाँचीको साविक पालि गाविस– २ तथा अहिलेको पाणिनी गाउँपालिका–८ मा जन्मिएका मियाँलाई सरकारले सुदूरपश्चिमका प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका थिए। उर्दु र नेपाली भाषामा माध्यमिक तहसम्मको अध्ययन गरेका मियाँ एमालेबाट २०६४ सालमा समानुपातिक संविधानसभा सदस्य बनेका मियाँ अहिलेसम्म कुनै राजकीय पदमा नबसेका व्यक्ति हुन्।
पञ्चायतकालमा दुई पटक जनपक्षीय उम्मेदवार भएर पराजित भएका उनी बहुदलपछि २०४९ र २०५४ गाविस अध्यक्षमा निर्वाचित भएर काम गरेका थिए। मियाँ २०४८ सालमा स्थापना भएको एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको संस्थापक समेत हुन्।
२०६० सालमा जनआन्दोलनका घाइते समेत रहेका मियाँले एमालेको महाधिवेशनबाट केन्द्रीय सल्लाहकार नियुक्त भएर काम गरेका थिए भने २०६४ र २०७० सालको केन्द्रीय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। एमालेको १० औँ महाधिवेशनपछि भने उनी २०७८ पछि केन्द्रीय सल्लाहकार परिषद्मा थिए।