काठमाडौं : नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूहबीच शनिबार एकता घोषणा भएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादवसहितको समूहले माओवादी केन्द्रसँग एकताको घोषणाको सहमति गरेको हो ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले एकताको निर्णय गरेको भन्दै माओवादी महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले शनिबार संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा उल्लेख भए अनुसार पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादी केन्द्रबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा छन् भने नेपाल समाजवादी पार्टीबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सदस्य छन् ।
सहअध्यक्ष श्रेष्ठले एकता गर्ने आफ्नो पार्टीको आधिकारिक निर्णय भएको दाबी गरे । ‘सिंगो नेपाल समाजवादी पार्टी एकतामा जाने हो । हामीले मंसिरको ६ गते नै पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टी एकता संयोजन समिति बनाएका थियौं । र त्यो पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले आजसम्म बस्न सकेको थिएन । आज बस्यो र यसले पार्टी एकता गर्ने निर्णय गर्यो’, उनले एकता घोषणापछि भने ।
माओवादी केन्द्रसँग पार्टी एकता गर्ने धेरै पुरानो कुरा हो भन्दै उनले विविध कारणले ढिलाइ भएको बताए । ‘पार्टी एकता गर्न नसकेपछि माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेको हो । त्यो त पार्टी एकता गर्ने शर्तसहित गरेको थियौं नि त’, श्रेष्ठले भने ।