धनगढी: नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिममा आफ्नो पार्टीको संसदीय दलले गरेको निर्णयबारे अनभिज्ञ रहेको कुरा प्रकट गरेकी छन्। महेन्द्रनगरपोष्टसँग टेलिफोन संवाद गर्दै उनले अनभिज्ञता प्रकट गरेकी हुन्।
उनले आफूलाई नभएर सो विषयमा आफ्ना पतिसमेत रहेका रेशमलाल चौधरीलाई सोध्न सुझाइन्। उनले भनिन्, ‘म बिरामी भएकी छु। यो विषयमा रेशम सरलाई सोध्नुस् न !’
जबकी उनी केन्द्रीय अध्यक्ष रहेको पार्टीको दलले सुदूरपश्चिममा उनैलाई चुनौती दिनेगरी पुरानै नेपाली काँग्रेस नेतृत्वको सरकारलाई समर्थन दिने निर्णय गरेको छ।
आइतबार बसेको बहुमत प्रदेशसभा सदस्यको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो। तर, नाउपाले केन्द्रिय गठबन्धनमा भने नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनलाई समर्थन दिएको छ।
सुदूरपश्चिम प्रदेश सभास्थित संसदीय दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बहुमत पाँच जना प्रदेशसभा सदस्यले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका हुन्।
बैठकमा संसदीय सभापति रहेका नाउपाका कैलाश चौधरी र प्रदेशसभा सदस्य टीका थापा भने सहभागी थिएनन्। उनीहरूबाहेक सरकारमा सहभागी राज्यमन्त्रीसहित पाँच जनाले उक्त निर्णय गरे।
बैठकपछि आर्थिक मामिला मन्त्रीसमेत रहेका दल नेता घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने र चाँडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने जानकारी दिए। समर्थन नदिनेलाई कारबाही ठोक्नेसमेत उनको दाबी छ।
तर, यस अगाडि भने केन्द्रीय अध्यक्ष चौधरीले समर्थन फिर्ता लिन र नलिए कारबाही हुने भन्दै निर्देशन दिएकी थिइन्। सो समयमा उनी र उनला पतिसमेत रहेका रेशमलाल बीचको विवादसमेत छताछुल्ल भएको थियो।
सुदूरपश्चिममा नाउपाले काँग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहलाई समर्थन कायमै राखेपनि उनीसँग कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जनामात्र पुग्छन्। त्यसमा पनि आजको बैठकमा अनुपस्थित प्रदेश सभा सदस्यले मत नदिने चर्चा पनि छ। यदी उनीहरूले पनि मत दिएको अवस्थामा पनि राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले समर्थन गरेपछि मात्र मुख्यमन्त्री शाहलाई आवश्यक पर्ने बहुमत सांसद २७ पुग्छन्।
संघमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका थिए।
त्यसपछि नाउपाले समर्थन फिर्ता नलिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउने प्रयास अन्तर्गत उक्त पार्टीबाट राज्यमन्त्रीसहित चार जनालाई मन्त्री बनाएका थिए।
चार जना मन्त्री थपे पनि उनलाई राप्रपा र स्वतन्त्र सांसदले समर्थनबारे स्पष्टता देखाइसकेका छैनन्। यसकारण पनि सुदूरपश्चिमको राजनीति र सरकार अन्यौलतामै धकेलिएको देखिन्छ।
र, यो पनि: नाउपाले सुदूरपश्चिममा शाह सरकारलाई समर्थन गर्ने