काठ्माडौं : दीपक मनाङे नामले चिनिएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङले नेकपा एकीकृत समाजवादी छाडेको घोषणा गरेका छन् ।
आजकै मितिदेखि लागू हुनेगरी आफूलाई स्वतन्त्र सांसदको हैसियत कायम गरिदिन उनले प्रदेश सभा सचिवालयमा निवेदन दिएको बताइएको छ । बिना कारण र अनयासै केन्द्रमा गठबन्धन फेरिँदा प्रदेशमा अस्थिरता मौलाउने भन्दै गुरुङले दलीय आबद्धता त्याग्न निवेदन दर्ता गराएका हुन् ।
’स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उनको निवेदनमा उल्लेख छ ।
मनाङे २०७९ मंसिरमा भएको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए । पछि उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
प्रदेश सभाको अघिल्लो कार्यकालमा पनि गठबन्धन परिवर्तन हुँदा मनाङे कित्ता फेरेर पटक–पटक मन्त्री बनेका थिए । यसपटक पनि नयाँ गठबन्धन सरकार बन्ने प्रक्रिया शुरु हुनै लाग्दा उनको यस्तो निर्णय आएको हो ।
मनाङेको यो निर्णयसँगै गण्डकीमा सरकार बनाउन सकस पर्ने देखिएको छ । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ सांसदको समर्थन आवश्यक हुन्छ । गण्डकीमा काँग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रको आठ, राप्रपाका दुई र आज एकीकृत समाजवादी छोडेका मनाङे सांसद छन् ।
एमाले–माओवादीको नयाँ गठबन्धनलाई सरकार बनाउन दुई सांसद अपुग हुन्छ भने राप्रपाका दुई जनाले समर्थन गर्दा पनि काँग्रेस नेतृत्वको वर्तमान सरकारले विश्वासको मत कायम गर्न सक्दैन । यस्तो स्थितिमा प्रदेशसभा विघटनमा जाने खतरा उत्पन्न भएको छ ।
यद्यपि मनाङेले भने मध्यावधि रोक्न समाजवादी छोडेको तर्क गरेका छन् । उनले स्वतन्त्र सांसद बन्ने घोषणा गरेपछि गण्डकी प्रदेश सभामा एकीकृत समाजवादीको प्रतिनिधित्व शून्य भएको छ ।