धनगढी : एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पुरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन् ।
प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडी नसरेको टिप्पणी गर्दै प्रचण्ड नै पुरै कार्यकाल प्रधानमन्त्री रहन सक्ने आशय व्यक्त गरेका हुन् ।
‘अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू केही अगाडी पनि सरेका छैनन्। के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त ’ ओलीले पत्रकार सम्मेलनमा भने ।
गृहमन्त्री रबी लामिछानेको विषय पदबाट राजीनामा दिनु पर्ने सम्मको नभएको उनको तर्क थियो । ‘ उनी सहकारी डुबाउने कुरामा लागेका छन् रु पैसा उठाउने सञ्चालन हुन् रु केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ’ ओलीले भने ‘नेपाली काङ्ग्रेसतिर रबी लामिछाने र उनको पार्टी लागेन त्यसो भएको हुँदा रबी लामिछानेलाई बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो ।’
ओलीले अहिले कांग्रेस सत्ताबाट बाहिर निस्किएपछि छाती पिटीपिटी रोएको टिप्पणी गरेका थिए ।
उनले नेपाली कांग्रेसले सरकारबाट हट्नु परेको पीडाको छटपटिँदै रुँदै के भन्छ त्यसलाई धेरै महत्त्व दिनु नहुने समेत बताए। उजुरी पर्दैमा उसलाई दोषी भन्न नमिल्ने ओलीको तर्क थियो ।
‘उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ’ ओलीले पत्रकारलाई भने, ‘उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खाली हुन्छ, संसद् खाली हुन्छ सबै खालि हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि । ’
कांग्रेसका मन्त्रीहरू झन्डा छोपेर अख्तियारमा बयान दिएको गएको भन्दै उनले नेपाली काङ्ग्रेसमा नैतिकताको कुनै अर्थ नरहेको टिप्पणी गरे
‘एउटा बोलाइको लागि गोकुल बास्कोटा र शेरबहादुर तामाङले राजीनामा दिनुभएको थियो तर, कांग्रेसका मन्त्रीहरू झन्डा छोपेर अख्तियारमा बयान दिएको पनि सुनिएकै हो ’ ओलीले भने, ‘ नेपाली काङ्ग्रेस नैतिकताको कुनै अर्थ छैन। सत्ता पक्षमा हुँदा एउटा प्रतिपक्षमा हुँदा अर्को कुरा गर्छ । ’
सुन तस्करीको अनुसन्धानका लागि एमालेले छानबिन आयोग बनाउन गरेको प्रस्ताव सही रहेको अहिले ठहर भएको ओलीको भनाइ थियो ।