धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुदूरपश्चिम प्रदेश कार्य सम्पादन समितिको बैठक सकिएको छ । बुधबार धनगढीमा सम्पन्न भएको बैठकले केन्द्रीय कार्य सम्पादन समितिको निर्णय अमलम्बन गर्दै अघि बढ्ने निर्णय गरेको छ ।
बैठकमा सुदूरपश्चिम प्रदेश सरकारकाबारेमा समेत छलफल भएको थियो तर कुनै निर्णय नभएको कार्य सम्पादन समितिका सचिव छत्रबहादुर शाहीले जानकारी दिए । ‘बैठकमा प्रदेश सरकारका बारेमा छलफल भएको थियो ।
सरकारलाई समर्थन गर्नुपर्छ र समर्थन गर्नुहुदैन् भन्ने दुवै मत आएका छन्,’ शाहीले भने, ‘समर्थन गर्ने अवस्थामा सरकारमै जानुपर्छ भन्ने सुझाव पनि आएका छन् तर आज कुनै निर्णय हुन सकेन ।’
शाहीले केन्द्रीय कार्य सम्पादन समितिको बैठकले फेरी एकपटक ९ वटै जिल्लाका अध्यक्षसँग प्रदेश सरकारका बारेमा छलफल गर्ने भएकाले तत्काल कुनै निर्णयमा नपुगिएको बताए । केन्द्रमा सत्ता समीकरण फेरिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत पुगाउन नागरिक उन्मुक्ति पार्टीका पाँच जनालाई मन्त्री बनाएका छन् ।
शाहलाई कांग्रेसका १८ र नाउपाका ७ गरेर २५ जनाको मात्र समर्थन भएकाले उनले बहुमत पुगाउन राप्रपा र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीको साथ खाजेका छन् । दुवैले समर्थन गरेमा मात्र उनलाई चाहिने बहुमत प्रदेशसभा सदस्य २७ जना पुग्ने भएकाले उनी फकाउन सक्रिय छन् ।
तर राप्रपा र स्वतन्त्र सांसदले नागरिक उन्मुक्ति पार्टीभित्र सरकारको विषयलाई लिएर दुई धार भएकाले ७ जनालाई नै विश्वासमा लिएपछि खुल्ने आश्वासन मुख्यमन्त्रीलाई दिएका छन् ।