धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चाडैं विश्वासको मत लिने तयारी गरेका छन्। केन्द्रमा राजनीतिक समीकरण फेरबदल भएर प्रदेशमा पनि तत्कालीन सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले पुनः विश्वासको मत लिने तयारी थालेका हुन्।
नेपाली काँग्रेसका मुख्यमन्त्री शाहले होली (फागु पूर्णिमा) लगत्तै प्रदेश सभाबाट विश्वासको मत लिने योजना बनाएर गृहकार्यमा जुटेको उनको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदलाई साथमा लिएर विश्वासको मत प्राप्त गर्ने गृहकार्य थालेका हुन्। तर त्यो उनका लागि सहज भने देखिदैन। नाउपाभित्रको आन्तरिक विवाद र केन्द्रमा नेकपा एमालेसहितको नयाँ समीकरणको सरकारलाई समर्थन गरेको नाउपाले सुदूरपश्चिम प्रदेशमा शाहलाई दिएको समर्थन कायमै राख्नेसम्मका निर्णयमा प्रदेश सभा सदस्यकै असहमति रहदा शाहले विश्वासको मत पाउन सकस देखिन्छ। तथापी मुख्यमन्त्री शाहले नाउपा मिलाउन निकै जोडबल गरिरहेको बताइन्छ।
केही साता अगाडि नागरिक उन्मुक्ति पार्टीका थप सांसदलाई लिएर मन्त्रीमण्डल विस्तार गरेका मुख्यमन्त्री शाहले राप्रपाका एकमात्र सांसद खिमादेवी बिष्ट र स्वतन्त्र सांसद तारा जोशीलाई साथमा लिन प्रयास गरिरहेका हुन्। तर स्वतन्त्र र राप्रपाले अहिलेसम्म स्पष्ट धारणा भने सार्वजनिक गरिसकेका छैनन्।
सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्दछ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एक जनाको निधन भएपछि हाल ५२ सदस्य छन्।
प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र एक सांसद छन्। मुख्यमन्त्री शाहलाई हाल २६ जनाको मात्र समर्थन छ। जुन अल्पमत हो।