धनगढी: कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ निर्देशक (डाइरेक्टर) आएका छन्। केही समय अगाडी निर्देशक फेरिएका हुन्।
तत्कालीन निर्देशक डा. प्रमोद जोशीको स्थानमा अहिले डा. विप्लव सापकोटाले जिम्मेवारी सम्हालिरहेको बताइएको छ। उनी अनुभवी चिकित्सक मानिन्छन्।
उनी आएपछि उनले विश्वविद्यालय सञ्चालनको विषयलाई प्राथमिकतामा राखेको बुझिएको छ। गेटामा विश्वविद्यालय सञ्चालनका लागि ६ अर्ब ५० करोडका भौतिक संरचना तयारी अवस्थामा छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असारसम्म बाँकी भौतिक संरचना निर्माणको काम पूरा गर्ने जनाएको छ।
सो मन्त्रालयले नै राष्ट्रिय सभामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालयको विधेय पेस गरेको थियो। राष्ट्रिय सभाबाट विधेयक प्रतिनिधि सभामा गएको छ। प्रतिनिधि सभामा विधेयकमाथि छलफल हुनेछ। प्रतिनिधि सभाबाट पारित भएपछि फेरि राष्ट्रिय सभामामा विधेयक आउनेछ।
राष्ट्रिय सभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालयको कानुन तयार हुनेछ।विश्व विद्यालयको कानुन तयार भएपछिमात्र सञ्चालनको प्रक्रिया सुरु हुनेछ। सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले ढिलोमा बर्खे अधिवेशनबाट गेटामा विश्व विद्यालय सञ्चालनका लागि कानुन तयार हुने बताए।
उनका अनुसार विश्वविद्यालयमा अस्पताल र कलेज पनि हुनेछ।
गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनका लागि स्वीकृत भौतिक संरचनाहरु तयार छन्। तर, नेपाल सरकारले विश्वविद्यालयको कानुन तयार भएपछि पाँच सय शय्याको अस्पतालबाट सेवा सुरु गर्ने तयारी गरेको छ। चिकित्सा शिक्षाका सबै कक्षाहरुमा अध्ययन हुने विश्वविद्यालयका कुलपती प्रधानमन्त्री हुने व्यवस्था छ। उपकुलपती नेपाल सरकारले नियुक्त गर्नेछ।
पदाधिकारीसहित रजिष्टार, अनुसन्धान तथा विभिन्न विभागका प्रमुखहरुसमेत नेपाल सरकारले नियुक्त गरिनेछ।