धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल हुन प्रस्ताव गरेका छन्। विश्वासको मत दिएको नाउपालाई सरकारमा सामेल हुन प्रधानमन्त्री दाहालले प्रस्ताव गरेका हुन्।
शनिबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरूसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री दाहालले नाउपालाई सरकारमा सामेल भएर संघदेखि प्रदेश सरकारसम्मै सहकार्य गरेर जान आग्रह गरेका छन्।
एक मन्त्रालय दिएर नाउपालाई सरकारमा सामेल गराउन प्रधानमन्त्री दाहाल तयार देखिएका छन्।
प्रधानमन्त्री दाहालसँगको छलफल सकारात्मक भएको छलफलमा सहभागी नाउपाका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौराले बताए। उनका अनुसार, संसदमा उपस्थितिअनुसार नाउपाको सम्मानजनक व्यवस्थापन गरिनुपर्ने माग राखिएको छ।
नाउपाले सुदूरपश्चिमको मुख्यमन्त्रीमा पनि दाबी गरिरहेको छ।
सरकारमा सामेल गराउन गठबन्धनका दलहरू सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री दाहालले फेरि यो विषयमा गठबन्धनभित्र छलफल गरेर बताउने आश्वासन दिएका थिए।