धनगढी : नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सरकारमा आफ्नो पार्टीबाट रन्जिता श्रेष्ठ मन्त्री हुँदा पनि उल्लेखनीय काम गर्न नसकेको गुनासो गरेका छन् ।
थारु कल्याणकारी सभा जापानले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नाउपाको मन्त्री हुँदा आफूहरूको नभएर कांग्रेस, एमाले र माओवादीको मात्रै काम भएको टिप्पणी गरका हुन् ।
अहिले पनि संघीय सरकारमा जान उपयुक्त नहुने चौधरीको भनाइ थियो ।
‘हामीलाई सरकारमा गएर केही गर्न दिनेवाला छैनन् । ११ महिना रन्जिताजी मन्त्री बन्नुभयो । कांग्रेस, एमाले र माओवादीको मात्रै काम भयो । जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर, गाडी चढ्नलाई ,सुत्नलाई घर लिनलाई उद्घाटन गर्नलाई हामीलाई मन्त्रालय चाहिएको छैन’, उनले भने ।
संघीय सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा रेशम चौधरी र उनको श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रन्जिता चौधरीबीच मतभेद रहेको छ ।
रन्जिता नयाँ गठबन्धनमा सहभागी हुन चाहन्छिन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन् । यस्तो बेला रेशमले जापानमा आयोजित कार्यक्रममा आफूलाई छलेर सरकारमा सहभागीको गृहकार्य भइरहेको समेत जनाए ।