धनगढी : बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दविरुद्ध अख्तियार र सम्पत्ति शुद्धीकरणमा निवेदन परेको बताइएको छ। केही दिन अगाडिमात्रै चन्दविरुद्ध जनप्रतिनिधि भएर करोडौं सम्पत्ति आर्जन गरेको भन्दै निवेदन परेको हो।
एमालेको कारबाहीमा परेर नेपाली काँग्रेस रोजेकी उपाध्यक्ष चन्दविरुद्ध उनकै पार्टीका नेताहरु समेत अख्तियारमा पुगेको बुझिएको छ।
उनले ५ वर्षको अवधिमा आर्जित धनले भक्तपुरदेखि महेन्द्रनगरको भीमदत्त नगरपालिकासम्मै जग्गा जोडेको भन्दै उजुरी परेको हो। मास्टर हुँदै राजनीतिमा होमिएकी चन्द ३६ वर्षअघि पञ्चेश्वर गाउँपालिका–४, निंगलाडमा जन्मिएकी थिइन्।
अघिल्लोपटक शिवनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी उनी राष्ट्रिय सभा निर्वाचनमा एमालेकै उम्मेदवारलाई घात गरेको भन्दै निलम्बनमा परेकी थिइन्।
उनै चन्दले जनप्रतिनिधिबाट बाहिरिएपछि भक्तपुरमा १ करोड २० लाखमा जग्गा किनेको र भीमदत्त नगरपालिकाको वडा नं. ५ मा करिब १० लाखको जग्गा र अर्को स्थानमा घर र ५० लाखको जग्गा किनेको बताइएको छ। उनको नाममा झण्डै ७० लाखको जेसिभी एक्साभेटरसमेत भेटिएको थियो। -जनाअस्था