धनगढी: सोमबार तराइमा होली थियो, होलीमा कैलालीको कर्णाली पुलमा होली खेल्ने र हेर्नेहरूको घुइँचो थियो। स्थानीय युवायुवती होलीमा रङ्गिन कर्णाली पुगेका थिए। त्यसैमा एक हुल युवाहरूको टोली कर्णाली पुलतर्फ लाग्यो। टोलीमा स्थानीय केही युवाको शरीरको माथिल्लो भागमा लुगा थिए, रङ्गले रङ्गिएका थिए। पानीले रुझेका थिए।
इलाका प्रहरी कार्यालय चिसापानीकाअनुसार माथिल्लो शरीरको कपडा फुकालेर सडकमा डुलिरहेका उनीहरूलाई नदीतर्फ नजान भनिएको थियो तर साथीहरू धेरै पछि भेट भएकाले सामूहिक तस्बिर खिच्न गइरहेको भन्दै उक्त समूह अघि बढेको थियो।
प्रहरीले सोध्यो, ‘कता हिँड्नु भएको ?’
‘ऊ पुलसम्म। फोटो खिचेर फर्किहाल्छौँ’, उनीहरुले प्रहरीलाई भने।
फाटो खिच्न भनेर पुल पुगेका युवाहरू एकाएक पुल माथिबाट हाम्फाल्न थाले।
केहीले नगर भने तर, एकएक गर्दै १७ जनाले पुलबाट हाम्फाले। तीमध्ये १६ औँ पटकमा हामफालेका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही अहिलेसम्म पनि फेला परेका छैनन्। प्रहरी स्रोतका अनुसार प्रहरीले उनीहरूलाई रोकेपनी मदिराको तालमा उनीहरुले नदीमा हाम फालेका थिए।
आज दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरेका थिए।
‘हामीले सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित नदीमा उहाँको खोजी गरेका थियौँ तर भेटिनुभएको छैन’, चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले भने, ‘आज साँझ परिसकेकाले खोजी कार्य स्थगित गरिएको छ। भोलि बिहानैदेखि पुनः खोजी गरिनेछ।’
यस्तै प्रहरी निरीक्षक डाँगीले कर्णाली नदीमा हाम फालेका मध्येका ६ जनालाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए। प्रहरीले हाम फाल्ने सबैलाई कारबाही हुनेसमेत जनाएको छ।