सरकारमा सहभागिताको विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरुको बैठक कैलालीको टीकापुरमा जारी छ ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नाउपाका संस्थापक र सांसदहरुको बैठक बसिरहेको हो । बैठकमा संस्थापक २१ जना र सांसद १६ जना सहभागी छन् । संरक्षक रेशम चौधरी भने विदेशमा रहेकाले यो बैठकमा सहभागी छैनन् ।
यो बैठकले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे निर्णय लिने अध्यक्ष चौधरीले जानकारी दिइन् ।
एमाले-माओवादी-रास्वपासहितको नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा अध्यक्ष रञ्जिता र उनका श्रीमानसमेत रहेका संरक्षक रेशम चौधरीबीच विमति छ ।
रेशमको स्वीकृतिमा नाउपा सुदूरपश्चिम र लुम्बिनी सरकारमा सहभागी छ । तर रञ्जिता भने सरकारबाट फिर्ता हुनुपर्ने र नयाँ सत्ता समीकरणमा सहभागी हुनुपर्ने पक्षमा छिन् ।
नाउपाका एक जना संस्थापक केन्द्रीय सदस्य रमेश विकले आजको बैठकले प्रदेश सरकारबारे आगामी मार्ग तय गर्ने बताए ।