धनगढी : सुदूरपश्चिम प्रदेशका दुई बिना विभागीय मन्त्रीले बिहीबार मन्त्रालयको जिम्मेवारी पाएका छन। लक्ष्मणकिशोर चौधरीले सामाजिक विकास मन्त्रालय र खुशीराम डङ्गौरा थारुले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका हुन ।
दुवै जनाले बिहीबार पदभार ग्रहण गरेका छन। केही दिन अगाडि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरुलाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए।
नाउपाको हिजो टीकापुरमा बसेको केन्द्रीय कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्टै मुख्यमन्त्री शाहले सो पार्टीबाट बिना विभागीय मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन ।
नागरिक उन्मुक्ति पार्टीले यसअघि आर्थिक मामिला मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाइसकेको छ। प्रदेश सभामा चौथो ठुलो दल रहेको यो पार्टीबाट पाँच जना मन्त्री भएका छन।