धनगढी: नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पति रेशमलाल चौधरीको उनकी पत्नी एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले स्वागत गरेकी छन्। आज (शनिबार) जापान यात्राबाट नेपाल फर्किएका रेशमलाई रञ्जिताले एयरपोर्टमै पुगेर स्वागत गरेकी हुन्।
उनले स्वागत छ राजा भन्दै अंगालो हालेर रेशमलाललाई स्वागत गरिएको फेसबुकमार्फत जानकारी दिएकी छन्। पूर्वमन्त्रीसमेत रहेकी रेशमकी पत्नी र रेशमबीच पछिल्लोसमय सम्बन्धि बिग्रेको चर्चाका बीच उनले एयरपोर्टमै पुगेर स्वागत गरेकी हुन्।
उनीहरूबीच राजनीतिक कारणले मतभेद छताछुल्ल भएकै बेला पारिवारिक सम्बन्ध पनि बिग्रेको बताइन्छ। केही समय अगाडि रेशमले पनि सोसल मिडियामै आन्तरिक मतभेद रहेको कुरा स्पष्ट पारेका थिए। स्मरण रहोस्, उनी रेशमकी दोस्री पत्नी पनि छन्।
केन्द्रमा रेशमको इन्छाबेगर माओवादी केन्द्र–एमालेसहितको नयाँ राजनीतिक गठबन्धनको सरकारलाई पत्नीले समर्थन गरेर सुदूरपश्चिमका सवालमा पनि फरक मत राखेपछि उनीहरूको आन्तरिक विवाद चुलिएको हो।