धनगढी : धनगढीमा सम्पन्न दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टी- २० क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको छ।
शनिवार सम्पन्न फाइनल भिडन्तमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै आलितालले उपाधि जित्यो ।
उपाधिसँगै आलितालले २ लाख पुरस्कार पायो भने परशुरामले १ लाख पायो । जितका लागि पाएको १११ रनको लक्ष्य आलितालले १८.१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्यो। जसमा दिलबहादुर बोहराले ३० र राजु रिजालले २२ रनको योगदान गरे। परशुरामका महेन्द्र धामीले ३ र कृष्ण विष्टले २ विकेट लिए।
त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको परशुराम १०७ रनमा समेटियो। उसका यश कठायतले ३२ र मान साउले २१ रन जोडे। आलितालका हिक्मत महरा र निरज ऐरले ३र३ विकेट झारे। हिक्मत म्यान अफ द फाइनल चुनिए।
आलितालका दिलबहादुर बोहरा म्यान अफ द सिरिज,परशुरामका राज बिक वेस्ट ब्याटर,कृष्ण विष्ट वेस्ट बलर र परशुरामकै अर्जुन बिक उदीयमान खेलाडी भए।
विजेता,उपविजेता र अन्य खेलाडीहरूलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द,परशुराम नगरपालिकाका मेयर भरत बढाएर जोशी,आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशी,क्यानका केन्द्रीय सदस्यद्वय धिरेन्द्र साउद र वीरेन्द्र चन्दलगायतले पुरस्कार वितरण गरेका थिए ।
समापन समापन समारोहमा बोल्दै क्यानका अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि आफू लागिपरेको बताए
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताए ।