धनगढी: नेपाल-भारत जोडिएको क्षेत्रमा भारतीय नागरिकको दिनदहाडै गोली हानेर हत्या भएको घटनामा प्रहरीले इनाम घोषणा गरेको छ। प्रहरीले उत्तराखण्डको उद्यमसिंह नगर प्रहरीले गोली हानेर हत्या गर्ने दुबै जनाको विषयमा जानकारी दिनेलाई इनाम दिइने जनाएको छ।
प्रहरीले दुबैको बारेमा जानकारी दिनेलाई २५/२५ हजार भारतीय रुपैयाँ इनाम दिइने जनाएको हो। अदालतकै आदेशअनुसार इनाम तोकिएको पनि प्रहरीले जानकारी दिएको छ। यस्तै हिजोमात्रै अदालतले दुवै अपराधी (सुटर) विरुद्ध गैर-जमानती वारेन्ट जारी पनि गरेको छ।
अस्ति (बिहीबार) नेपाल-भारत सीमा रहेको वनवासाबाट ३० किलोमीटर टाढा रहेको भारतीय सहर उद्यमसिंह नगर जिल्लाको नानकमत्तामा नानकमत्ता गुरुद्वाराका डेरा प्रमुख तरसेम सिंहको हत्या गरिएको थियो।
प्रहरीका अनुसार हत्यारा सुटर बिलासपुर रामपुरका सुरेन्द्र सिंह र पन्जावका स्वरुप सिंह रहेका छन्।
उनीहरूलाई पक्राउ गर्न र घटनाको अनुसन्धान गर्न प्रहरीले एसआईटी गठन गरिएको समेत जनाएको छ। बाबा तरसेम सिंहलाई दुईजनाले दिनदहाडै गोली हानेर हत्या गरेका थिए। उक्त हत्याकाण्डमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले समेत चासो दिएका छन्।
र, यो पनि: नानकमत्तामा सिंहको दिनदहाडै गोली हानेर हत्या [भिडिओसहित]