काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले एसईई परीक्षामा मधेस प्रदेशका जिल्लामा चिट चोरिएको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी नेतृत्व र निरीक्षकले लिनुपर्ने बताएका छन् ।
आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले एसईईमा मधेसका विभिन्न जिल्लामा चिट चोराइएको र त्यसमा सरकारी अधिकारीहरु नै जिम्मेद्वार रहेको आरोप लगाए । तर, आम मधेसलाई त्यसको दोषी देखाउन खोजिएको भन्दै उनले आपत्ति जनाए ।
‘मधेसले पहाडलाई पढाउनको लागि कुनैबेला उक्लिने गथ्र्यो । तर, अहिले मधेस आफैँ एसईई परीक्षा हुँदै गर्दाखेरी चिट चोर्नेहरुको चपेटामा पर्दैछ । काठमाडौंमै सुनिन्छ, कसैको ड्राइभिङ लाइसेन्स छैन भने मधेश झरौँ न त्यहाँ बनिहाल्छ ।
कोही एसईई पास हुन सकेन भने मधेस झरौँ त्यहाँ पास भइहाल्छ भन्ने कुरा । तर त्यसको इमेजको कस्ट मधेसले तिरिराखेको छ । त्यो हामीले किन तिर्ने ?, सांसद झाले प्रश्न गरे, यहीँबाट खटाइएको सिडिओ, एसपी, निरिक्षक सबै अधिकारीहरुले छुट दिइराखेको छ, त्यसको मूल्य मधेसले तिरिराखेको छ । तर यसको दोष हामी मधेसी होइनौँ, केन्द्रबाट खटाइने सिडिओ, एसपी र अरु अधिकारीहरु हुन् ।
मधेसमा हुँदै गरेको परीक्षालाई गम्भिरतापूर्वक लिन उनले सरकारको ध्यानाकर्षण पनि गराए ।