धनगढी : अल्पमतमा रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने समय साँघुरिँदै गएको छ।
केन्द्रमा बनेको नयाँ गठबन्धनपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारले माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए।
फागुन २२ गते माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेपछि २३ गते माओवादीले समर्थन फिर्ता लिएको थियो। संविधानत: मुख्यमन्त्री शाहले २२ गते भित्र विश्वासको मत लिइसक्नुपर्नेछ।
विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था गरिएको उक्त धारामा ‘प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने व्यवस्था उल्लेख गरिएको छ।
मुख्यमन्त्री शाहसँग २२ गते भित्रै विश्वासको मत लिने वा विश्वासको मत पाउने सम्भावना नरहँदा राजीनामा दिने दुई विकल्प छन्। अहिले मुख्यमन्त्री यी दुवै विकल्पमा छलफल गरिरहेको कांग्रेस निकट स्रोतको दाबी रहेको छ। मुख्यमन्त्री शाह यही विषयमा थप छलफल गर्न सोमबार साँझ काठमाडौँ प्रस्थान गरेका छन्।
राजीनामा दिने कि, संसद् फेस गर्ने भन्नेमा दोधारमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह त्यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन लिन काठमाडौँ प्रस्थान गरेका हुन्।
उनी हिजो साँझ ६:४० को श्रीएरलाइन्सको फ्लाइटमा काठमाडौ गएका हुन्। उनले देउवा र नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पनि भेट्ने बताइएको छ।
मुख्यमन्त्री शाहसंगै सरकारका प्रभावशाली मन्त्री प्रकाशबहादुर देउवा पनि काठमाडौ गएका छन्।
मुख्यमन्त्री शाह विश्वासको मत लिनु पर्ने अवस्था आएमा चैत २२ गते विहीबार लिने मुडमा रहेको उनी निकट स्रोतको भनाइ छ।
आफ्ना १८, नाउपाका ७, स्वतन्त्र र राप्रपा मिलाएर बहुमत सङ्ख्या २७ पुर्याउने रणनीतिमा मुख्यमन्त्री शाह छन्। तर,नाउपाभित्रै विवाद हुँदा उनी सकसमा परेका हुन्।