धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली काङ्ग्रेसका मुख्यमन्त्री शाहले बिहीबार दिउँसो ३ बजे विश्वासको मत लिने तयारी गरेका हुन्।
तत्कालीन गठबन्धनमा नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए।
आज बसेको प्रदेश सभा सचिवालयले सोही अनुसार प्रदेश सभा बैठक आह्वान गरेको छ। प्रदेश सभा सचिव देवराज बोगटीले प्रदेश सभा सदस्यहरुलाई बैठकबारे म्यासेज पठाइसकेका छन्।
५३ सदस्यीय प्रदेश सभामा हाल ५२ प्रदेश सभा सदस्य रहेका छन्। यस प्रदेशमा बहुमत ल्याउन २७ मत आवश्यक रहे पनि कुनै दलसँग बहुमत छैन। सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १८ र उन्मुक्तिका सात गरि २५ जना पुग्छ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिन स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टको समर्थन जरुरी छ। यी दुईमध्ये कुनै एकले यो सरकारको समर्थन नदिए शाह सरकार ढल्ने छ।
हाल १८ प्रदेश सभा सदस्य रहेको काँग्रेसलाई नागरिक उन्मुक्तिका ७ जना र एक जना स्वतन्त्र गरी २६ जनाको समर्थन कायमै छ।
मुख्यमन्त्री शाह स्वतन्त्र र राप्रपा प्रदेश सभा सदस्यको समर्थनसहित मत लिने दाउमा छन्। तर, राप्रपाकी प्रदेश सभा सदस्य विष्टले सरकार गठनमा साथ र सहयोग दिनेबारे कुनै निर्णय नभएको बताइन्।
यस्तै स्वतन्त्र जोशीले पनि समर्थन र मतबारे कुनै धारणा सार्वजनिक गरेका छैनन्। उता नाउपालाई भने समर्थन र मत दिन भन्दै फागुन २५ गते बिना विभागीय मन्त्रीमा नियुक्त खुशीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र २८ गते नियुक्त भएका लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो। हाल नाउपाका सुदूरपश्चिम सरकारमा ५ जना मन्त्री छन्। तर नागरिक उन्मुक्तिभित्र पन्ज मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने र नदिने भन्दै मतविभाजन देखिएको छ। मुख्यमन्त्री शाहले आज काठमाण्डौंमा उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीसँग भेटघाट गर्ने तयारी गरेका छन्।
सुदूरपश्चिम प्रदेश सभामा काँग्रेसका १८ (एकजनाको निधन), माओवादीका सभामुख सहित ११, नेकपा एमालेका उपसभामुख सहित १०, नागरिक उन्मुक्तिका ७, समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ गरी ५२ प्रदेश सभा सदस्य छन्। नागरिक उन्मुक्तिभित्र सरकारमा जाने र नजाने दुई गुट देखिएपछि प्रदेश सरकार कसले बनाउने भन्नेमा टुंगो भने छैन।
संविधानत: मुख्यमन्त्री शाहले २२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्नेछ।