धनगढी : आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा १ का लागि हुन लागेको उपनिर्वाचनको उम्मेदवार छनोटलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद भएको छ।
मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकमा उम्मेदवार चयनको विषयमा विवाद भएको हो।
खास गरी सभापति देउवा र नेता डा.शेखर कोइरालाबीच बझाङ १ का लागि उम्मेदवार छनोटमा विवाद भएको हो।
बैठकमा नेता शेखरले बझाङ प्रदेशसभा निर्वाचनमा पनि स्थानीय चुनावमा तेस्रो मत ल्याएकालाई टिकट दिन लागेको भन्दै आपत्ति जनाएका थिए।
‘यसअघिका निर्वाचनमा हारेकालाई टिकट नदिने कुरा भएको थियो। तर बझाङमा स्थानीय तह निर्वाचनमा वडामा तेस्रो मत ल्याएकोलाई टिकट दिन लागियो’, शेखरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो र भूगोलको सुझाव र सिफारिस नमान्ने भए तपाईंहरू नै दोषको भारी बोक्नुस् र जिम्मा पनि लिनुस्।’
शेखरले उक्त कुरा भनिरहँदा पूर्वमहामन्त्री शशांक पनि साथमै थिए। उनले पनि ‘दाइले भनेकै कुरामा समर्थन छ’, भनेर बूढानीलकण्ठ छाडेका छन्।
बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि संसदीय बोर्डको बैठक बसेको थियो। जहाँ सभापति देउवादेखि उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासमेत सहभागी थिए।