धनगढी : धनगढी उपमहानगरपालिकाको कार्यालय भित्र विष सेवन गरेका गणेश राना डिस्चार्ज भएका छन्। धनगढी उपमहानगरपालिका–६ का जग्गा कारोबारी राना १५ दिनपछि सेती प्रादेशिक अस्पतालबाट घर फर्किएका हुन्।
धनगढी उपमहानगरपालिकाको कार्यालय पुगेर चैत ६ गते रानाले विष सेवन गरेका थिए। विष सेवन गरेर बेहोस भएका राना मंगलबार घर फर्किएका अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था राम्रो भएपछि सेती प्रादेशिक अस्पतालले घर पठाएको हो।
कैलाली जग्गा तथा आवास विकास संघको तदर्थ समिति सदस्य रहेका रानाले चैत ६ गते मङ्गलवार विष सेवन गरेका थिए। धनगढी उपमहानगरपालिकाको कार्यालयमा प्रवेश गर्दै गर्दा उनले किरा मार्न प्रयोग गरिने विषदी सेवन गरेका थिए।
रानाले नगर प्रमुख गोपाल हमाललाई धम्की दिएको भन्दै प्रहरीमा निवेदनसमेत दर्ता गरिएको थियो। त्यसपछि नगरप्रमुख हमालले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएका थिए।