काठ्माडौं : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
इलामको प्रतिनिधिसभा सदस्य र बझाङमा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको आयोगले जानकारी दिएको हो । इलाम २ मा जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरे र प्रदेशतर्फ बझाङ १ को (१) मा जिल्ला न्यायाधीश सुदर्शन लामिछाने नियुक्त भएका छन् ।
भोलिदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जानकारी दिएको छ ।
२०७९ मंसिर ४ गते भएको चुनावमा इलाम–२ मा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र प्रतिनिधिविहीन छ । त्यस्तै, बझाङ क्षेत्र नम्बर १ को (१) मा नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको सवारी दुर्घटनामा ज्यान गएपछि सो क्षेत्र रिक्त छ ।