धनगढीः नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नयाँ समानुपातिक सांसदमा पार्टीका केन्द्रीय सदस्य तीर्थराज बोहराको नाम सिफारिस गरिएको छ।
नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद तथा राज्यमन्त्री इन्दिरा गिरीलाई कारबाही गर्दै बोहरालाई सिफारिस गरेकी हुन्। उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन्।
गिरी पार्टीको विधान र नीति विपरीत सरकारबाट फिर्ता नभएपछि उनलाई कारबाही गर्दै टीकापुर निवासी बोहरालाई सिफारिस गरिएको नाउपाले जनाएको छ।
पार्टीको निर्णय विपरीत सरकारमा किन गएको ? भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन्। रेशम चौधरी पक्षले गिरिलाई मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो।
रञ्जीता पक्षका मानिएका कैलाश चौधरीलाई हटाएर रेशम पक्षले गिरीलाई भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा पठाएका थिए। श्रेष्ठले सरकारमा सहभागी अन्य प्रदेश सभा सदस्यहरुलाई भने कारबाही गरेकी छैनन्। उनीहरू सबै प्रत्यक्ष निर्वाचित सांसद हुन्। नाउपाका ७ प्रदेश सांसदमध्ये गिरी र टीका थापा मात्र समानुपातिक हुन्।