धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।
दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ। मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् ।
तर, नाउपाभित्रैको किचलो र स्वतन्त्र सांसदको अडानका कारण शाह सरकार जोगिने सम्भावना क्षीण रहेको छ । विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न समते कांग्रेस सासदहरुले समेत सुझाव दिएका थिए ।
तर मुख्यमन्त्रीले विश्वासको मत पाउँछु भनेपछि विश्वासको मत लिन लागेका हुन ।
प्रदेशसभाको सबभन्दा ठुलो दल कांग्रेसका १८ सांसद छन् । ५२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ ।
गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ । नाउपाका ७ सांसद छन् ।
त्यसो त मुख्यमन्त्री शाहले सरकार टिकाउनकै लागि प्रदेशसभामा सात सदस्य रहेको नाउपाका पाँच जनालाई मन्त्री बनाएका थिए । नाउपाका २ जना प्रदेशसभा सदस्यले मत नदिने बताइसकेका छन् । नाउपाका एक जना सांसदले पनि विश्वासको मत नदिँदा सरकार जोगिने सम्भावना रहँदैन । त्यसैमा राप्रपा र स्वतन्त्र सांसदको मत पनि मुख्यमन्त्री शाहलाई अनिवार्य छ ।
कांग्रेसका सबै , नाउपाका सबै राप्रपा र स्वतन्त्रले पनि मत दिँदा ठिक्क बहुमत २७ पुग्छ तर, त्यो सम्भावना निकै कम रहेको बताइन्छ ।