धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। मुख्यमन्त्री शाहले प्रदेश प्रमुखलाई राजीनामा दिएको स्रोतले जानकारी दियो।
विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर उनले राजीनामा बुझाएको बताइएको छ।
प्रदेश सभा बैठक अगाडि उनले राजीनामा गरेका हुन्। मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।
मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएकोमा बैठक अझै सुरू भएको छैन।
अल्पमतमा परेपछि उनको आज विश्वासको मत लिने अन्तिम दिन थियो। तर, उनले विश्वासको मत नलिएर राजीनामाको बाटो रोजेका हुन्। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए।
अहिले मुख्यमन्त्री शाहले प्रदेश प्रमुखलाई राजीनामा बुझाएपछि सरकार कामचलाउ बनेको छ।
नेपाली कांग्रेसका मुख्यमन्त्री शाहले आफ्नो पार्टीका १८ सहित नागरिक उनमुक्ति पार्टी (नाउपा)का ७, राप्रपा र स्वतन्त्र सांसदले मत पाएमात्र बहुमत पुग्थ्यो। तर नाउपाको विवादले सांसद नै नआउने भएपछि शाहले विश्वासको मत पाउने सम्भावना नदेखेर राजीनामा दिएको बुझिएको छ।
शाहलाई स्वतन्त्र सांसद डा. तारा जोशी र राप्रपाले पनि विश्वासको मत नदिने निर्णय गरेका थिए।