काठमाडौं – नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंह नियुक्त भएका छन् । आज उनले दर्ज्यानी चिन्ह(फुली) समेत लगाइसकेका छन् । यद्यपि नियुक्तिबारे असन्तुष्ट पक्ष नियुक्ति बदरको मागसहित सर्वोच्च अदालत समेत पुगेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । तर, गृह मन्त्रालयको बढुवा सिफारिस समितिले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई सिफारिस गरेको थियो । तर, तेस्रो नम्बरमा रहेका सिंहलाई सरकारले आईजीपीमा बढुवा गरेको थियो ।
यस विषयमा गृह मन्त्रालयले स्पष्टीकरण दिदैं आईजीपी नियुक्तिमा उमेर मात्र आधार नहुने गृह सचिव टेकनारायण पाण्डेले प्रष्ट पारेका छन् । पाण्डेले परिपक्वता, जेष्ठता, कार्यकुशलता र कार्यक्षमताले गर्दा सरकारले धिरजप्रताप सिंहलाई आइजिपी बनाईएको स्पष्ट पारेका हुन् ।
आज (सोमबार) गृह मन्त्रालयमा नवनियुक्त आइजिपी सिंहलाई दर्ज्यानी चिन्ह लगाउने क्रममा संक्षिप्त सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले छनौट गरेका सिंह प्रहरी संगठनलाई पनि उपयुक्त भएको जिकिर गरे ।
उनले भने,‘‘घरमा पनि अभिभावकले सबै सन्तानलाई उत्तिकै माया गरेको पाइँदैन, घरमा पनि विभेद हुन्छ। अहिले भएका एआइजीमध्ये सरकारले सिंहलाई छनौट गर्यो। उनलाई अभिभावकीय भूमिका हिसाबले सरकारले मन परायो।’