धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। मुख्यमन्त्री शाहले प्रदेश प्रमुखलाई राजीनामा दिदै राजनीतिक परिस्थितिका कारण राजीनामा दिएको बताएका छन् ।
विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन्। शाहले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर उनले राजीनामा बुझाएका छन् ।
प्रदेश सभा बैठक अगाडि उनले राजीनामा गरेका हुन्। मुख्यमन्त्री शाहले बिहीवार ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा बैठक स्थगित गरिएको थियो। त्यसपछि ५ बजेका लागि बैठक डाकिएकोमा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।
अल्पमतमा परेपछि उनको आज विश्वासको मत लिने अन्तिम दिन थियो। तर, उनले विश्वासको मत नलिएर राजीनामाको बाटो रोजेका हुन्। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए।